काठमाडौं । २० औं शताब्दीमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले सुरुवात गरेको मन्टेश्वरी शिक्षण पद्धति अहिले संसारभर लोकप्रिय छ ।
नेपालमा पनि काठमाडौं लगायत देशका मुख्य शहरहरूमा मन्टेश्वरी पद्धतिमा बालबालिकालाई सिकाउने उद्देश्यले थुप्रै मन्टेश्वरी स्कूलहरू सञ्चालनमा छन् ।
मन्टेश्वरी सिकाइले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुर्याउछ । बालबालिकाको रुचि र चाहनाअनुसार पढाएर उनीहरूलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधिबाट पढाइ हुने भएका कारण अहिले मन्टेश्वरी किन्डरगार्टेनप्रति अभिभावकको आकर्षण बढ्दो छ ।
मन्टेश्वरी स्कूलले बालबालिकाको क्षमता पहिचान गरेर त्यही अनुसारको शिक्षा दिएर सबल बनाउने गर्छ । ललितपुरमा रहेका मन्टेश्वरीमध्ये महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा रहेको लरेन्सपार्क मन्टेश्वरीले छोटो समयमा लोकप्रियता कमाउन सफल भएको छ । कोभिडपछि केही थलिए पनि अहिले भने यसले आफ्नो उचाइलाई कायम राख्न सफल भएको छ । यस विद्यालयको प्रिन्सिपलको जिम्मेवारी भने उषा बुढाथोकीले सम्हाल्दै आएकी छिन् ।
प्रिन्सिपल बुढाथोकीको चाहना नर्स बन्ने थियो । नर्ससँगै उनलाई शिक्षण पेशा पनि त्यत्तिकै मन पर्थ्यो । यी २ पेशामा रोज्नु पर्दा उनले पहिलो प्राथमिकतामा शिक्षण पेशालाई नै राखिन् । उनी सम्झिन्छिन्, ‘स्कूल पढ्दा म कल्पनामा आफू पनि यसरी नै पढाइरहेको पाउँथें । १ दिन यसैगरी पढाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’ यही सपनासँगै उनले एसएलसीपश्चात नजिकैको स्कूलमा पढाउन सुरु गरिन् । उनलाई विशेष गरी बालबालिकासँग रमाउन मन लाग्थ्यो । त्यही भएर पनि उनलाई स–साना बालबालिका रहेको कक्षा नर्सरी, एलकेजीमा गएर बालबालिकालाई अध्यापन गराउनुका साथै उनीहरूसँग समय बिताउन मन पर्थ्यो ।
समय बाँकी हुने बित्तिकै उनी स–साना कक्षाका शिक्षकहरूलाई सहयोग गर्न पुग्ने गर्थिन् । समय सँगसँगै उनको चाहना बालबालिकासँग रमाउने थियो । त्यही चाहना भएर होला उनले पछि नर्सरी, एलकेजी र यूकेजीमै पढाउन सुरु गरिन् । यो सिलसिला चल्दै गयो । स–साना उमेरका बालबालिका उचित स्याहार र बालमैत्री वातावरणको खोजीमा टाढा-टाढाका स्कूल बसमा चढेर दुःखका साथ विद्यालय गएको देख्दा प्रि-स्कूल खोल्ने आंकाक्षा बढ्यो । उनलाई लाग्यो - आफ्नै घरनजिकै एउटा बालमैत्री विद्यालय खोलेर बालबालिकालाई शिक्षाको ज्योति छर्न पाए हुन्थ्यो । फलस्वरूप विद्यालय खोल्नु भनेको कुनै पनि ठाउँको विकासमा टेवा पुर्याउनु भन्ने सोचेर विद्यालय खोल्ने दृढ संकल्पका साथ उनले प्रि-स्कूल खोल्न सफल भइन् । अहिले यो विद्यालयमा १२ जना शिक्षक र ५ जना सहयोगी कर्मचारी रहेका छन् भने १३० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
नेपालका अधिकांश मन्टेश्वरी स्कूल नाम मात्रका छन्, जसले मन्टेश्वरीको नाममा बा-आमालाई आकर्षित गर्ने र तर्साउने काम गरिरहेका छन् । यो मन्टेश्वरीले कसरी बालबालिकालाई सबल बनाउने कार्य गरिरहेको छ ? मन्टेश्वरी चलाउन कतिको चुनौती छ ? यी नै विषयमा केन्द्रित रहेर लरेन्स पार्क मन्टेश्वरी प्रि–स्कूलको प्रिन्सिपल उषा बुढाथोकीसँग व्यवस्था डटकमका लागि सन्तोषी कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंश :
अन्य पेशा नअपनाएर मन्टेश्वरी खोल्नुको कारण के हो ?
– मलाई अलि चुनौतीपूर्ण काम गर्न मन पर्छ । एक त शिक्षण, त्यसमा पनि यो त चुनौतीपूर्ण कार्य हो भन्ने थाहा हुँदाहुँदै पनि म यो पेशामा आएँ । आउनुको मुख्य कारण मैले लामो समय यही उमेर समूहका बालबालिकासँग बिताएको छु । यसरी काम गर्दा मैले विभिन्न तालिमहरू लिए । बालबालिकाको यो उमेर भनेको जीवनको जग बसाल्ने उमेर हो । यो उमेरमा पाइने उचित शिक्षा, स्याहार र सकारात्मक वातावरणले हामी भविष्यमा कस्तो हुन्छौं भन्ने निर्धारण हुने हुनाले यो अत्यन्त संवेदनशील समय भएकाले यो समयमा दिइने शिक्षाले बालबालिकाको सर्वाङ्गीण विकासलाई ध्यान पुर्याउनुपर्ने भएकाले उनीहरूलाई शिक्षाका लागि उपयुक्त विद्यालय हुनु जरुरी छ भन्ने लागेर विद्यालय सञ्चालन गरेको हुँ ।
घर बालबालिकाको पहिलो पाठशाला र आमा पहिलो शिक्षिका भएजस्तै जब बालबालिका सानो उमेरमा विद्यालय जान्छन्, तब त्यहाँ पनि त्यस्तै वातावरण पाउनुपर्छ र मैलै केही कुरा जाने भने त्यो कुरा मैले मेरो समाजमा बाँड्नुपर्छ भन्ने उद्देश्यका साथ सबैभन्दा संवेदनशील र अत्यन्त चुनौतीपूर्ण यो पेशालाई सम्मान गर्दै मैले यसलाई रोजेको हुँ ।
तपाईंले विद्यालय सञ्चालन गरेको पनि लामो समय बितिसकेको छ, परम्परागत सिकाइ र मन्टेश्वरी शिक्षामा के भिन्नता पाउन सकिन्छ ?
– परम्परागत शिक्षामा सिकाइ शिक्षक केन्द्रित हुने हुनाले एकोहोरो सुगा रटाइ जस्तो हुन्छ । जहाँ सबै बालबालिकालाई एउटै स्तरमा राखेर शैक्षिक क्रियाकलाप गराइन्छ । जसमा सम्पूर्ण विधिहरू शिक्षक केन्द्रित हुन्छन् भने कक्षाकोठा पनि त्यहीँ संकुचित तरिकाको हुन्छ भने हरेक क्रियाकलाप शिक्षकको निर्देशनमा हुन्छ । मन्टेश्वरीमा बाल केन्द्रित शैक्षिक गतिविधि हुन्छन् भने सिकाइलाई बालबालिकाको रुचिलाई ध्यानमा राखेर विभिन्न तरिकाहरू अपनाएर बालबालिकाको सर्वाङ्गीण विकासलाई मध्यनजर गर्दै व्यावहारिक जीवनपयोगी क्रियाकलापलाई शैक्षिक क्रियाकलापमा जोडिन्छ । हरेक बालबालिकाका फरक-फरक क्षमतालाई सम्बोधन गरिन्छ ।
अभिभावकको बढ्दो आकर्षण र कार्यव्यस्तताका कारण बालबालिकालाई समय दिन नसक्दा उनीहरू बालबालिकालाई दिनभर प्रि–स्कूल पठाउँछन् । हजुरहरूलाई बालबालिकाको व्यवस्थापन गर्न कतिको चुनौती छ ?
– अभिभावकको बढ्दो आकर्षण र कार्यव्यस्तताका कारण पनि एउटा हुनसक्छ तर बढ्दो शहरीकरणका कारण हाम्रो बालबालिकाहरूलाई घरभित्र राख्नुभन्दा नजिकै पायक पर्ने बालकेन्द्रमा लानु उचित हुन्छ । जहाँ बालबालिकाहरूले आफ्नो उमेर समूहका साथीहरू र बाहिरी समाजसँग घुलमिल गर्ने वातावरण पाउछन् । घरबाहिर निस्किएँ पछि उनीहरूले हरेक दिन नयाँ–नयाँ कुराहरू सिक्ने अवसर पाउँछन् । जसले गर्दा उनीहरूको बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुग्ने गर्दछ ।
सुरुको १ महिना घुलमिल हुनलाई बालबालिकालाई अलि गाह्रो पर्छ तर पछि बिस्तारै बालबालिका हामीसँग घुलमिल भएपछि सहज हुन्छ । तर कहिलेकाहीँ आपतकालीन अवस्थामा फोन कल रिसिभ नहुँदा चाँहि परिस्थिति असहज हुने गरेको छ ।
नेपालका अधिकांश मन्टेश्वरी प्रि-स्कूलले कक्षा कोठाको व्यवस्थापन, शिक्षण सामग्रीदेखि शिक्षकको क्षमता र दक्षताका कारण बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन सकेका छैनन् भन्ने आरोप छ, हजुर यसलाई कसरी खण्डन गर्नुहुन्छ ?
– लिटिल नलेज इज डेन्जरस् भने जस्तै हो । हुन सक्ला कुनै–कुनै ठाउँमा त्यो वातावरण सिर्जना भएर पनि आरोप लागेको होला तर सबैलाई एउटै ठाउँमा राख्नु चाहिँ गलत हुन आउँछ । हाम्रो समाजमा जुनै कुराको पनि खण्डन गर्दा, आरोप लगाउँदा सतही रूपमा बसेर गरिन्छ, त्यो एकदमै नराम्रो हो ।
मन्टेश्वरी शिक्षा पद्धतिमा बालबालिकालाई पढ्नका लागि करकाप गर्न नपाइने र उनीहरूलाई गर्न मन लागेको काम गर्न दिनुपर्ने भनिन्छ ? तपाईंहरूले कसरी यसको व्यवस्थापन गर्नुभएको छ ?
– बालबालिका मात्र होइन, हामी कसैले पनि कुनै काम गर्नका करकाप गर्न मिल्दैन । करकापले गरेको कामको प्रतिफल राम्रो आउन पनि सक्छ, नआउन पनि सक्छ । अझ बालबालिकालाई त यो गर्नै हुँदैन । हाम्रो विद्यालयमा आइसकेपछि हाम्रा बालबालिकाहरूको पहिला हामी अनुहार पढ्छौं र उनीहरूको रुचि अनुसारको क्रियाकलपा गर्नै दिन्छौं र त्यसपछि बिस्तारै हाम्रो क्रियाकलापतर्फ लैजान्छौं । यसरी लिएर जाँदा आजसम्म बालबालिकाले करकापको महसूस गरेका छैनन् । यदि कहिलेकाहीँ उनीहरूले रुचि देखाएनन् भने हामी उनीहरूलाई त्यस्ता क्रियाकलापहरू गर्न लगाउँदैनौं । उनीहरू सो क्रियाकलाप हेरेर बस्छन् र जब उनीहरूमा चाहना बढ्छ, तब आफैं जोडिन आउँछन् ।
बालबालिकालाई शिक्षण सिकाइमा कसरी प्रेरित गरिरहनुभएको छ ?
– हामीले बालबालिकाहरूको सिकाइलाई प्रभावकारी बनाउन सिकाइ क्रियाकलापहरू गराउँछौं । जस्तैः खेल विधि, विभिन्न शैक्षिक सामग्री प्रयोग, गीत–संगीत, कथा, नाटकको प्रयोग, अडियो, भिडियो प्रयोग गरेर उनीहरूको सिकाइलाई सहजीकरण गर्दै आएका छौं ।
नेपालको मन्टेश्वरी किन्डरगार्टेन पद्धति शिक्षकलाई तालिम प्रदान गरेर गरिने भए पनि पुरानै संरचना र परम्परागत तरिकाले सञ्चालन भइरहेको भन्ने गुनासो छ । जसका कारण बालबालिकाको सिकाइ उपलब्धिमूलक हुन सकेको छैन भन्ने आरोप छ नि !
– मैले पहिला पनि भनिसके - हाम्रो समाजमा कुनै कुरालाई आरोप लगाउँदा एउटाको गल्तीलाई जोडेर त्यससँग सम्बन्धित सबै संघ÷संस्था मुछिन्छन्, त्यो एकदमै गलत हो । त्यहाँ कुन विधि अपनाइएको छ, त्यसअनुसार शैक्षिक क्रियाकलाप भएको छ कि छैन त्यसअनुसार विद्यार्थीको मूल्यांकन कसरी गरिएको छ, त्यसैगरी गराउँदा बालबालिकाको सिकाइ उपलब्धि कस्तो छ पूर्ण रूपमा जानकारी नलिई एउटा पार्टमा रहेर अझ भनौं १ जनाको सिकाइ उपलब्धि हेरेर यो राम्रो छैन भनेर खण्डन गरिनु यो खण्डन गर्ने व्यक्तिको स्तरको म खण्डन गर्छु ।
‘नेपालका मन्टेश्वरीले बाहिरका मन्टेश्वरीको जस्तो बालबालिकाको सिकाइलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन कति सकेका छन् ?
– बाहिरी मुलुकसँग दाज्नुभन्दा पनि कुन केन्द्रले कुन सिद्धान्तमा आधारित रहेर आफ्नो शैक्षिक गतिविधिहरू गरेको छ र त्यो प्रभावकारी भएको छ कि छैन भन्नु उचित हुन आउला । अहिले मैले देखेअनुसार नेपालमा बालबालिकाको सिकाइ प्रभावकारी रूपमा अगाडि बढिरहेको छ । धेरैजसो केन्द्रले एउटा सिद्धान्तलाई टेकेर आफ्ना क्रियाकलापहरू सञ्चालन गर्दै आएका छन्, जुन बालबालिकाका लागि उपलब्धिमूलक छ ।
मन्टेश्वरी शिक्षाले बालबालिकामा सामाजिक, मनोवैज्ञानिकका साथै व्यवहारमा कतिको फरकपन ल्याउँछ ?
– मन्टेश्वरी शिक्षाले बालबालिकाको सर्वाङ्गीण विकासलाई ध्यानमा राखेको हुन्छ । यसरी कुनै पनि क्रियाकलाप गराउँदा त्यो क्रियाकलापमा बालबालिकाको कुन विकासलाई कुन क्रियाकलापसँग जोड्ने भनेर शैक्षिक गतिविधिहरू तयार गरिएको हुन्छ, जसले गर्दा बालबालिकाको व्यवहारमा परिवर्तन त सहज रूपमा आई नै हाल्छ ।
नेपालमा मन्टेश्वरी स्कूलको गुणस्तर र प्रभावकारिता नभएको टिप्पणी हुने गरेको छ ? यसलाई तपाईंले कसरी लिनुभएको छ ?
– नेपालमा मन्टेश्वरी स्कूलको गुणस्तर र प्रभावकारितातर्फ ध्यान दिने हो भने यो एकदमै प्रभावकारी छ । व्यस्त अभिभावकको यो एउटा समाधानको रूपमा पनि रहेको छ । बालबालिकाले आफ्नो उमेर, रुचि र क्षमताअनुसार प्रतिभा प्रस्फुटन गर्ने थलोको रूपमा पनि यो अत्यन्त प्रभावकारी रूपमा रहेको छ । गुणस्तरमा पनि यो एकदमै बालबालिकाको लागि उपयुक्त छ । स्वास्थ्य, सुरक्षा र खानपानका साथै बालमैत्री सिकाइ विधिले गर्दा यो एकदमै प्रभावकारी छ । टीका–टिप्पणी भन्ने कुरा हुन जरुरी पनि छ, यसले गर्दा कमी–कमजोरीतर्फ सचेत हुन सहयोग पनि गरेको हुन्छ ।
अहिलेको बदलिँदो परिस्थितिमा बालबालिकाको शिक्षा र सिकाइ विधि पद्धतिबारे अभिभावक कतिको सचेत हुनुपर्ला ?
– परिस्थिति बदलिए जस्तै दिनानुदिन शिक्षण सिकाइ विधि पनि बदलिरहेको हुन्छ । अभिभावक र विद्यालयको सकारात्मक सहकार्य हुनु अत्यन्त जरुरी छ । त्यसमा पनि आफ्ना बालबालिकाले कसरी स्कूलमा सिकिरहेका छन् र त्यहीँअनुरूप घरमा पनि कसरी निरन्तरता दिने भन्ने कुरामा अभिभावक सचेत हुनु अत्यन्त महत्त्वपूर्ण कुरा हुन आउँछ । सिकाइ भन्ने कुरा बालबालिको हरेक ठाउँमा हुने हुनाले बालबालिकासँग संलग्न प्रत्येक व्यक्ति नै सचेत हुनु जरुरी छ, जसले गर्दा बालबालिकाको सिकाइमा सहजता ल्याउन सहयोग गर्छ ।
मन्टेश्वरीलाई सबैभन्दा लोकप्रिय बनाउन कस्तो योजना अगाडि बढाउनुभएको छ ?
– मन्टेश्वरीलाई लोकप्रिय बनाउन सबैभन्दा पहिले हामीले हाम्रो विद्यालयलाई बालमैत्री बनाएका छौं । यथेष्ट खेल मैदान, खेल सामग्रीका साथै बालबालिकाले घरायसी वातावरणको अनुभव गर्न पाउँछन् । स्वास्थ्य र सुरक्षा हाम्रो पहिलो प्राथमिकतामा छ भने नविनतम शैक्षिक प्रणालीमा रहेर शिक्षण क्रियाकलापहरू सञ्चालन गर्दै आएका छौं । शिक्षालाई सैद्धान्तिक रूपमा मात्र नभई व्यावहारिक रूपमा जोडेका छौं भने आफ्नो सामाजिक संस्कारलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं । बालबालिकाहरूलाई खेलाउँदै, सिकाउँदै र हुर्काउँदै उनीहरूलाई शिक्षाको उज्यालो ज्योतितर्फ उन्मुख गराउँदै आएका छौं । बालबालिकाले सुनेर हेरेरभन्दा पनि आफू सहभागी भएर कुनै कुरा गरेर चाँडै सिक्ने भएकाले यी कुरालाई ध्यानमा राखेर हामी अगाडि बढ्ने छौं ।
अन्त्यमा यो वर्षबाट १ कक्षा पनि सञ्चालनमा ल्याउनुभएको छ । अब यतिमा मात्रै सीमित हुन्छ कि कक्षा बढाउने सोच गर्नुभएको छ ?
– अभिभावकहरूको विश्वास, हौसला र साथ सहयोगले गर्दा हामीले यस वर्ष १ कक्षा थप गर्न सफल भएका छौं । आगामी दिनमा ३ कक्षासम्म लैजाने योजना बनाएका छौं । आशा छ, यसमा सबै अभिभावकहरूको साथ र सहयोग हामीमाझ रहनेछ । शिक्षाको विकासका लागि सबैले सहयोग गर्नुहुन्छ भन्नेमा पूर्ण आशावादी पनि छु ।