काठमाडौं । पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरुमा जान बाध्य छन् ।
रोजगारीका लागि मुलुकमा भनेजस्तो रोजगारी पाउन नसक्दा दक्ष, अर्धदक्ष र अदक्ष तीनवटै अवस्थाका यु्वा–युवती रोजगारीको सिलसिलामा वैदेशिक रोजगारी नै रोज्न बाध्य छन् ।
वैदेशिक रोजगारको पक्ष हेर्दा जति सुन्दर र रमाइलो छ त्यो भन्दा धेरै गुणा बढी पीडाले भरिएको छ । प्रत्येक वर्ष करिब एक हजार नेपाली विदेशी भूमिमा अल्पायुमा ज्यान गुमाउन बाध्य भएका छन्, नेपालमा रहेका परिवारजनले कतिको त शवसमेत प्राप्त गर्न सक्दैनन्, कतिले लामो समय कुर्नुपर्छ भने करिब पाँच सय जति अङ्गभङ्गको सिकार समेत भएको आकलन गर्न सकिन्छ ।
यी र यस्तै वैदेशीक रोजगारको पीडा र अवस्थालाई मध्यनजर गर्दै बैदेशिक रोजगारबाट फर्किएका महिला कामदारहरु संगठित भै पौरखी नेपालको स्थापना गरिएको छ । यो गैर नाफा मुलक सामाजिक संस्था हो । वि.स.२०६० मा स्थापित यस संस्थाले वैदेशिक रोजगारमा जान चाहने विदेशमा काम गरिरहेका र फर्कि आएका महिला कामदारहरुको अधिकार सुनिश्चित गर्नाका लागि सूचना, शिक्षा तथा कानूनी सवालमा पैरवी-वकालत, अध्ययन अनुसन्धान, सूचना मुलक सामग्रीको उत्पादन तथा वितरण, जनचेतना मुलक कार्यक्रमहरु साथै महिला श्रमिकहरुका लागि आकस्मीक सुरक्षित आवास गृह, आप्रवासी श्रमिकहरुको न्यायमा पहुँच दिलाउनको लागि निशुल्क कानूनी सहजिकरण तथा सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श र कामदार मैत्री वातावरणको पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाको सहकार्यमा बिबिध कार्यक्रमहरु गर्दै आएको छ ।
वैदेशिक रोजगार, सुरक्षित, व्यवस्थित र मर्यादित र लाभदायीक होस् भन्ने उद्देश्यका साथ यो संस्थाले आफ्नो यात्रा सुरुवात गरेको थियो । वैदेशिक रोजगारका क्रममा नेपाली युवाहरु सही सूचनाको अभावले गन्तव्य मुलुकमा पुगेर समस्यामा पर्ने गरेका छन् । यसका लागि सही सूचनाको व्यवस्थापन हुन आवश्यक देखिएको छ ।
रोजगारीका लागि बिदेसिने महिलाको संख्या पछिल्लो समय बढ्दै जानुको साथै, त्यससँगै दुःख र वेदनाका कथाहरू पनि थपिँदै गएको देखिन्छ । घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै पनि कतिपय महिला वैदेशिक रोजगारीमा गएको पाइन्छ । वैदेशिक रोजगारीलाई रोज्नु महिलाहरूको रहर नभएर बाध्यता हुने गरेको छ । आफ्नो आर्थिक स्थिति सुधारका लागि भन्दै महिलाहरू बाध्यताले विदेश त जान्छन् तर त्यहाँ आफूमाथि शोषण भइरहेको चाल पाएपछि भने पछुताउनु बाहेक केही विकल्प हुन्न ।
सुखद भविष्यको कल्पना गरेर रोजगारीका लागि बिदेसिएका महिलाहरू रोजगारदाताबाट आर्थिक रूपले मात्रै शोषित हुँदैनन्, शारीरिक हिसाबले समेत प्रताडित हुनुपर्ने बाध्यता आइलाग्छ । त्यस्ता महिला स्वदेश फर्किएपछि समाजबाट मात्रै होइन, घरपरिवारबाट समेत अपहेलना भोग्नुपर्ने अवस्थाले उनीहरूलाई झन् बढी पीडा दिने गर्छ ।
त्यही पीडालाई केही हदसम्म मलम लगाउने काम पौरखी नेपालले गर्दै आएको छ । वैदेशिक रोजगार प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकार, निजी क्षेत्र र रोजगारदाताबीचको सहकार्य अपरिहार्य देखिन आउँछ ।
वैदेशीक रोजगारमा जाने महिला श्रमिकहरुले भोग्नु परेको समस्या, वैदेशीक रोजगारका लागि सरकारले अवलम्बन गरेको नीति लगायतका विषयमा केन्द्रीत रहेर पौरखी नेपालकी सह–संस्थापक तथा रणनैतिक सल्लाहकार, मञ्जु गुरुङ्गसँग व्यवस्था डटकमका लागि सन्तोषी कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंश :
पौरखी नेपालको पृष्ठभुमि र यसको परिकल्पना कसरी गर्नुभयो ? यसलाई कसरी स्मरण गर्नुहुन्छ ?
पौरखी नेपालको परिकल्पना विदेशमा श्रम गरेर फर्किएका श्रमिकहरुको पनि अधिकार हुन्छ र ? भन्ने पृष्ठभूमिमा आफुजस्तै अन्य श्रमिक तथा श्रमिकका परिवारका अधिकार सुनिश्चित गर्नुपर्ने रहेछ भन्ने अनुभुति भएकाले समान अनुभव र समान विचार भएका श्रमिकहरू संगठित भई यो अभियानको आवश्यकता महसुस गरि संस्थाको यात्रा सुरु गरिएको हो ।
अन्य पेशा नअपनाएर पौरखी नेपाल संस्थामा आवद्ध हुनुको कारण के हो ?
सामाजिक सेवा, मानव अधिकार, लैंगीक अधिकार त्यसमा पनि (non issue) भएको कसैले पनि प्राथमिकतामा नराखेको विषयमा हाम्रो मुद्दामा जसको सवाल उसैको नेतृत्व हुनुपर्ने टड्कारो आवश्यकता महसुस गरेर यही मुद्दालाई निरन्तरता दिनका लागि पनि यस संस्थाको आवश्यकता देखेर यसमा लागेको हुँ।
हजुरको अनुभवमा वैदेशिक रोजगारमा कस्ता किसिम तथा वर्गका महिलाहरु वैदेशिक रोजगारमा जाने गरेका छन् ?
राज्यको मुलधारमा नपरेका, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक रुपमा पछाडि पारिएका, घरेलुहिंसा, बालविवाह, लैंगिक हिंसामा परेका, दलित, जनजाती र भौगोलिक रूपले विकटतामा परेका, आन्तरिक बसाइसराई गरी स्वदेशमा सम्मानित रोजगार र सम्मानित सामाजिक वातावरण नपाएका जाती, धर्म र वर्गका आधारमा विभेदमा परेका महिलाहरु वैदेशिक रोजगारमा जाने गरेका छन् । जसका कारण उनीहरुले वैदेशिक रोजगारको शिलसिलामा भने जस्तो पारिश्रमिक नपाउने र ठगिने गरेका छन् । सीपको अभाव, भाषाको सिमित ज्ञान, वैदेशिक रोजगारी सम्बन्धी कानूनी ज्ञानको अभावका कारण पनि शोषणमा पर्ने गरेका छन् ।
नेपाल सरकारले विभिन्न समयमा विभिन्न सवालहरुलाई आधार बनाएर खाडीमुलुकको सिमित देशहरुमा महिला श्रमिकहरुको लागि घरयासी काममा प्रतिबन्द लगाएको छ यसलाई कसरी हेर्नु हुन्छ ?
नेपालको संविधान, सिड, वैदेशिक रोजगार ऐन र नेपालले गरेका अन्तराष्ट्रिय प्रतिबद्धताको विरुद्ध यस नीतिले महिलाको पेशा र व्यवासय चयन गर्ने अधिकार, हिड्डुलको अधिकारलाई कुण्ठित गरेको छ ।
सरकारले विभिन्न गन्तव्य मुलुकमा कार्यरत नेपाली महिला घरेलु कामदारमाथि ज्यादती भएका विवरण आएपछि त्यस्ता देशहरूमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध अघि नै घरेलु कामदारका रूपमा गएका महिलाहरूले नेपाल फर्केपछि पुनः श्रम स्वीकृती नपाउने अवस्था समेत बनेको अवस्था थियो । तर यस नीतिले महिलाको पेशा र व्यवसाय चयन गर्ने अधिकारलाई कुण्ठित मात्र गर्ने काम गर्यो । जसले गर्दा सरकारले नै वैदेशिक रोजगारका लागि महिला श्रमिकहरुलाई अवैधानिक बाटो रोज्नु है भनेर बाध्य बनाएको देखिन्छ । प्रतिबन्ध समस्याको समाधान होइन, यो महिला प्रतिको विभेदपूर्ण कदम हो ।
प्रतिबन्दका कारण महिला श्रमिकहरु गैरकानुनी तरिकाले बैदेशिक रोजगारमा जान बाध्य भएका छन् जसले गर्दा गन्तव्य मुलुकहरुमा महिला श्रमिकहरुले कस्ता–कस्ता समस्या तथा जोखिमहरुको सामना गर्नु परेको छ ?
राज्य विहिनताको अवस्था छ । अनागरिकको हैसियतले झनै जोखिमपूर्ण रुपमा आधारभुत श्रमिक अधिकार, मानव अधिकारको हनन् भएको तथा राज्यको सेवा सुविधाबाट बञ्चित हुनु परेको अवस्था छ । महिला श्रमिकहरुहरुले वैदेशिक रोजगारमा जाँदा, बाटोमा, गन्तव्य र फर्किएपछि विभेदपूर्ण, श्रमशोषण, आर्थिक, शोषण लगायतका समस्याहरु झेल्नु पर्ने बाध्यता छ ।
बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन पौरखी नेपालले लामो समयदेखि विभिन्न सवालहरुमा पैरवी तथा वकालत गर्दै आइरहेको छ । यसबीचमा पौरखी नेपालले भोग्नुपरेको मुख्य चुनौतीहरु के–के छन् ? पौरखी नेपालले अहिलेसम्म प्राप्त गरेका प्रमुख उपलब्धिहरुलाई कसरी सम्झनुहुन्छ ?
- महिला श्रमिकलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नहुनु ।
- पितृसतात्मक, सामाजिक संरचना त्यस अनुरुप भएका व्यवहार तथा दृष्टिकोण कै कारण मुद्दाहरु तथा सवालहरुलाई राज्यले प्राथमिकतामा नराख्नु ।
-श्रोत साधनको अपर्याप्तता ।
-पर्याप्त अध्ययन अनुसन्धान, अभिलेख तथा तथ्याङ्कको अभावका कारण तथ्यमा आधारित कार्यक्रमको अभाव ।
पौरखी नेपालको उपलब्धी
पौरखी नेपालले २३ वटा जिल्लासम्म प्रत्यक्ष वैदेशिक रोजगार सम्वन्धी कार्यक्रम गर्न सफल भएको छ भने राष्ट्रिय, अन्तराष्ट्रिय, क्षेत्रीय तहसम्म यस संस्थाको उपस्थिती बलियो देखिएको छ । स्थानीय तह र समुदायसम्म पुगेर यस संस्थाले वैदेशिक रोजगार सम्वन्धी जनचेतना फैलाउन सफल भएको छ । महिला श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्नका लागि पौरखी नेपालले पैरवी गर्दै आएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन आगामी दिनमा पौरखी नेपालको रणनीतिहरु कस्ता रहने छन् ?
यस संस्थाले विशेष गरी वैदेशिक रोजगार, सुरक्षित, व्यवस्थित र मर्यादित र लाभदायीक होस् भन्ने उद्देश्यका साथ आफ्नो यात्रालाई अगाडी बढाइरहेको हुनाले आगामी दिनमा पनि हामी यसको संस्थागत संरचनाको विकास र विस्तारमा जोड दिने छौँ । साथै वैदेशिक रोजगारबाट फर्किएका श्रमिक तथा उनीहरुका परिवार लक्षित कार्यक्रम विस्तार गर्दैै आएका पनि छौँ र आगामी दिनमा यसलाई थप पुर्नसंरचना गरी अगाडी बढाउने छौँ । नीतिगत हस्तक्षेपका साथै अध्ययन अनुसन्धानको दायरालाई पनि फराकिलो बनाउँदै लैजाने योजना छ ।
सरकारको नीति वैदेशीक रोजगारका लागि कस्तो छ ? महिलाको हकमा सरकारले वैदेशिक रोजगारमा जान चाहने महिलाका लागि आगामी दिनमा कस्तो नीति अवलम्बन गर्नुपर्ला ?
नेपाल सरकारको नीति अपेक्षाकृत, प्रगतीशील नै रहेको पाइन्छ । अझ महिलालाई लक्षित गरेका केही बुँदाहरु धेरै राम्रो पनि छ तर यसको कार्यान्वयन पक्ष एकदम फितलो पाइन्छ । सरकारले कार्यान्वयन पक्षलाई ध्यान दिन आवश्यक छ ।
बैदेशिक रोजगारबाट फर्किएर आएका महिला श्रमिकहरुको पुनः एकीकरणको लागि नेपाल सरकारले कस्तो नीति तथा कार्यक्रमहरु लागु गरेको छ ? बिधमान नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन कस्ता नीति तथा कार्यक्रम अबलम्बन गर्नुपर्ला ?
अधिकांश नेपाली महिला श्रमिकहरु वैदेशिक रोजगारमा घरेलु कामदारको रुपमा जाने गरेको पाइन्छ । सरकारले घरेलु कामदारका रूपमा महिलालाई वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाएको अवस्था छ । जसको फलस्वरुप महिला श्रमिकहरु अलेखबद्ध श्रमिकको रूपमा छन् । वैदेसिक रोजगारबाट फर्किएका श्रमिकहरुका लागि बनाइएको पुर्न एकिकरण निर्देशिका महिला श्रमिकहरुका लागि “बेल पाक्यो हर्ष न बिस्मत” जस्तो अवस्था छ । त्यसैले महिला श्रमिकहरुका लागि विशिष्ट आवश्यकताहरु हुन्छन् ती आवश्यकताका आधारमा सकारात्मक विभेदका नीति अनुरुप उनीहरुको आवश्यकता अनुसार कार्यक्रम बनाई महिला श्रमिकका आवश्यकता परिपूर्ती गर्ने गरी महिला श्रमिक मैत्री हुनुपर्दछ ।