गोरखा । जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शंकर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिंगो परिवार शोकमा परेको थियो ।
उपचारका क्रममा राजधानी काठमाडौंमा निधन भएका शंकरको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौं भएकी आमा जुनकिरीसहित सबै परिवार र आफन्त पशुपति आर्यघाटमा पुगे ।
अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न ३ वटा गाडी लिएर सपरिवार गोरखा फर्किंदै थियो । घर फर्किंदै गरेका ३ गाडीमध्ये २ गाडी मुग्लिन पुगेर रोकिए । मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्किंदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन ।
निकैबेर प्रतिक्षापछि पनि गाडी नआएपछि अनेक शंका–उपशंका बढ्दै गयो । मुग्लिन पुगेका आफन्तले प्रहरीलाई जानकारी गराए । तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात पर्यो ।
घटनालगत्तै आफन्त र परिवार घटनास्थलमा पुगे । प्रहरीले दुर्घटनास्थलबाट ५ जनाको शव निकाल्यो । घटनामा परेका १ जना अझै बेपत्ता छन् । क्यान्सरबाट निधन भएका छोराको गाउँमै काजकिरीया गर्न भनेर ट्याक्सीमा घर फर्किंदै गरेकी आमा जुनकिरी २ छोरी, १ नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्किने छैनन् ।
जुनकिरीसहित दुर्घटनामा ज्यान गुमाएकामा उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल, ९ वर्षीय नाति आगमन उपरकोटी (मृतक हरिमायाका छोरा) भएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीया दिवस रोका क्यान्सर रोगबाट निधन भएका शंकरका छोरा हुन् ।
मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी रोका परिवारमा ५ जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिंगो पौवाखेत शोकमा डुबेको छ । अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरू समेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।