काठमाडौं । सरकारले माघ २ गते २६ औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । आज २६ औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
सरकारले माघ २ गते स्थानीय स्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ भन्ने मूल नारासहित दिवस मनाउन लागेको हो । वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताए ।
उनले २६ औँ भूकम्प सुरक्षा दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहने बताए ।




























